आफूलाई नपुगञ्जेल कोभिड–१९ औषधीमाथि युरोपले लगायो प्रतिबन्ध

info khabar ३० माघ २०७७, शुक्रबार १६:२०
आफूलाई नपुगञ्जेल कोभिड–१९ औषधीमाथि युरोपले लगायो प्रतिबन्ध

एक सय मुलकलाई असर पर्ने, डब्लुएचओद्वारा आलोचना

काठमाडौं । युरोपियन युनियनले कोभिड–१९ विरुद्धको औषधी अन्य मुलुकमा पठाउन प्रतिबन्ध लगाएको छ । युनियनले भनेको छ– हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो प्राथमिकता हो । अहिलेको चुनौतीले हामीलाई अरू विकल्प दिएन । कोरोनाभाइरस खोप माग अनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका बेला युरोपेली सङ्घले युरोपमा बनेको कोरोनाभाइरसको खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको पुष्टि गरेको छ । यो प्रतिबन्धले यूके, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित सय मुलुकहरू प्रभावित हुनेछन् । तर गरिब मुलुकहरूसहित केही भने प्रतिबन्धमा परेका छैनन् ।

ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने अधिकार युरोपेली सङ्घसँग रहेको छ । (ईयू) ले अहिलेको नियन्त्रण अस्थायी रहेको भन्दै स्थायी निर्यात प्रतिबन्ध नलगाएको बताएको छ । तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सहित अन्य देशले ईयूको यो कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएका छन् ।

वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा होमिएको अनि खोप वितरणको सुस्त गतिका कारण सङ्घ माथि बढ्दो दबावबीच यस्तो समाचार आएको हो । शुक्रवार युरोपेली आयोगले एस्ट्राजेनेकाले आफूहरुसँगको सम्झौतामा आधारित रहेर खोप वितरण गर्न नसकेको भन्ने भनाइलाई बल पु¥याउन उक्त कम्पनीसँगको गोप्य सम्झौता नै सार्वजनिक गरिदिएको थियो ।

नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्नका लागि युरोपियन युनियनसँग अनुमति लिनुपर्नेछ । २७ सदस्य राष्ट्र भएको सङ्घले त्यस्ता आवेदनको परीक्षण गर्न पाउने छ । फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप यूकेमा निर्यात भइरहेको छ । सम्झौता अनुरूप मार्च महिनासम्ममा उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ । फाइजरले भने बेल्जियमस्थित आफ्नो उत्पादन केन्द्रमा भइरहेको विस्तारको कार्यका कारण त्यस्तो भएको जनाएको छ ।

कसका लागि प्रतिबन्ध लाग्दैन ?

ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध लगाएको छैन वीवीसीको अनलाइनले उल्लेख गरेको छ । तीमध्ये कोभ्याक्सका लागि खोप दान, गरिब मुलुकका लागि विश्वव्यापी खोप सहयोग योजना, स्वीट्जरल्यान्ड, पश्चिमी बाल्कन मुलुकहरू, नर्वे र उत्तर अफ्रिका रहेका छन् । त्यसैगरी अन्य भूमध्यसागरीय मुलुकहरू लेबनन र इजरेल पनि प्रतिबन्धमा परेका छैनन् । प्रतिबद्धता पूरा गरिनुपर्छ र सम्झौताहरू बाध्यकारी हुन्छन् । खोप किन्न गरिएका अग्रिम सम्झौताहरूको सम्मान गरिनुपर्छ । ईयूबाट खोपहरू निर्यात भइरहेको छ कि छैन भन्ने थाहा पाउने प्रणाली आज हामीले विकास गरेका छौँ । ईयूसँग आफ्ना सदस्य राष्ट्रबाट हुने खोप निर्यातलाई अनुमति दिने अधिकार छ ।

ईयूमा खोपको राजनीति

यो अघिल्लो साता नै ईयूले प्रतिबन्धको प्रस्ताव आउन लागेको सङ्केत गरेको थियो । अधिकारीहरूले त्यसलाई “सूचना प्रणाली“ भनेका थिए । त्यो अहिले निर्यात नियन्त्रण नीतिमा परिणत भएको छ । त्यो आंशिक रूपमा जर्मनीले ईयूका मुलुकमा बन्ने खोप अन्यत्र निर्यात गर्नेबारे ईयू सरकारले निर्णय गर्न पाउनुपर्ने भन्ने अडान राखेका कारण पनि यस्तो अवस्था आएको हो । त्यसैगरी बेल्जियममा रहेको कारखानामा कम उत्पादन भएकाले पनि माग बमोजिमको खोप उपलब्ध गराउन नसकेको भन्ने एस्ट्राजेनेकाका प्रमुखले ’अस्पष्ट तर्क’ प्रस्तुत गरेकाले पनि यस्तो निर्णय गर्नुपरेको ईयूका अधिकारीहरूले बताएका छन् ।

निर्यात नियन्त्रणको नयाँ प्रणालीले ब्रिटिश खोप वितरणलाई प्रभावित पार्न सक्छ । फाइजरले अहिले बेल्जियममा बनेको खोप यूकेका लागि पठाउने गरेको छ । भविष्यमा फाइजरले खोप यूके पठाउन फाराम भर्नुपर्ने र निर्यात अनुमति पाएको या नपाएको थाहा पाउन ४८ घण्टासम्म कुर्नुपर्ने हुनसक्छ । निर्यात गर्न दिने कि नदिने भन्ने निर्णय ईयूसँग गरिएको सम्झौतालाई असर पर्ने या नपर्ने भन्नेमा आधारित हुनेछ ।