सवारी चालक अनुमति दिन सात महिनासम्म कुर्नु पर्ने

info khabar ३० माघ २०७७, शुक्रबार १६:२४
सवारी चालक अनुमति दिन सात महिनासम्म कुर्नु पर्ने

दुर्घटना रोक्ने उपाए खोजिएन, सरदर वर्षमा १० हजार बढी सवारी दुर्घटना

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन सर्वसाधारणले लामो समय प्रतीक्षा गर्नुपर्ने देखिएको अधिकारीहरूले जनाएका छन् । २ लाख ५० हजार जनाले सवारी चालक अनुमतिका लागि आवेदन दिएका छन् । कोरोनाभाइरस महामारीका कारण १० महिना जति चालक अनुमति पत्र दिने प्रक्रिया रोकिएको थियो । त्यो खुला भएपछि लाइसेन्सका लागि करिब साढे दुई लाख सर्वसाधारणले आवेदन दिइसकेका छन् । त्यसैकारण वैशाख सम्मका लागि परीक्षा दिने मिति सकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । तर दुर्घटना बढ्नुको कारण र समाधानबारे उनले कुनै उपाए सुल्झाएनन् । कुनै व्यक्तिले बिना सवारी चालक अनुमतिपत्र सवारी साधन चलाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० संजाय सम्बन्धि व्यवस्था महलको दफा १६० बमोजिम पाँच सय रुपैयाँदेखी दुइ हजार सम्म जरिवाना हुने अत्यन्तै फितलो कानुनका कारण पनि यातायात दुर्घटना हुने गरेको बताइन्छ । सरदर वर्षमा १० हजार बढी सवारी दुर्घटना हुने गरेका छन्, जसमा परि २ हजार जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ । तर कोभिड–१९ का कारण यो वर्ष दुर्घटना कम भएको अनुमान गरिएको छ । करिब ३ महिना सवारी साधन चलेनन् भने एक महिनाअघिसम्म जोर विजोर गरी सवारी साधन चलाउन सरकारले अनुमति दिएको थियो ।

पछिल्ला ११ वर्षमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा धेरैको ज्यान गएको छ । यो अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन् । आर्थिक वर्ष ०६४ र ६५ देखि ०७४ र ७५ सम्म भएका ९१ हजार ८ सय ५७ सवारी दुर्घटनामा २० हजार १ सय ७७ व्यक्तिले ज्यान गुमाएका हुन् । ०७०–७१ देखि ०७४–७५ सम्मको अवधिमा भएका कुल ४६ हजार सात सय ९२ दुर्घटनामा ४३ हजार एक सय दुर्घटना चालकको लापरबाहीले भएका हुन् ।

हाल देशैभर करिब ७ देखि ८ लाख जना सवारी चालक अनुमतिको प्रतीक्षामा रहेको उनले जानकारी दिए । मासिक करिब ७०,५०० सवारी चालक अनुमति पत्र जाने गरेकोमा त्यसमध्ये दुई लाखभन्दा बढीले फारम भरिसकेको अवस्था छ । विभागका अनुसार सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि हुने परीक्षामा नेपाल विश्वमै कम उत्तीर्ण दर भएको देशमा पर्छ । पहिलो पटकको प्रयासमा नेपालमा जम्मा २५ देखि ३० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेको अधिकारीहरू बताउँछन् । त्यस्तो प्रतिशत अन्य देशहरूमा ७० प्रतिशतसम्म रहेको उनीहरूको भनाइ छ । मापदण्ड धेरै कडा बनाउँदा चार–पाँच वर्ष सडकमै सवारी हाँकेका मानिसहरू समेत अनुत्तीर्ण हुने अवस्था देखिएको विभागले जनाएको छ । त्यसकारण प्रश्न कडा गर्नेभन्दा पनि सडकमा जान्नुपर्ने कुराहरू थाहा दिने गरी वार्षिक सोधिने प्रश्नहरूको सँगालो बनाउने छौँ र त्यसलाई प्रकाशन गर्ने छौँ । जनताले धेरै भन्दा धेरै जानुन् भन्ने हाम्रो उद्देश्य हो । यसरी परीक्षा दिँदा परीक्षार्थीले कम्तीमा ८० अङ्क ल्याउनुपर्ने प्रस्ताव गरिएको छ । हाल लिखितमा ५० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था छ ।

यसैबीच सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि नयाँ व्यवस्था ल्याउने तयारी थालेको बताइएको छ । हाल विद्यमान विभिन्न समस्याहरूको समाधान गर्नका लागि भन्दै प्रयोगात्मक परीक्षामा ६० अङ्क ल्याए अनुमति पत्र प्राप्त गर्ने प्रावधान सहितको परीक्षा मापदण्ड तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिसकिएको बुझिएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले करिब दुई महिनाअघि नैै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम तथा परीक्षा खोल्ने तयारी गरेको थियो । कोभिड–१९ को प्रकोपसँगै गत चैत ११ गतेदेखि मुलुक पूर्णतः लकडाउनमा गएसँगै नयाँ लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा प्रभावित हुँदै आएको छ ।