इन्द्रवती गाउँपालिकाका जनताको सेवा गर्न छाडने छैन

info khabar १० फाल्गुन २०७७, सोमबार ११:३१
इन्द्रवती गाउँपालिकाका जनताको सेवा गर्न छाडने छैन

मिरा अधिकारी लामा, उपप्रमुख इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा जन्मिएकी मीरा अधिकारी लामा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष हुन् । इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका, पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभे्रपलाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका र जुगलगाउँपालिका रहेका छन् । सिन्धुथुम र पाल्चोकथुम मिलाएर सिन्धुपाल्चोक जिल्लाको नाम रहन गएको हो । जुगल हिमालकै श्रेणीबाट निश्केको नाउलुङ र चाच्यूलेकको उत्तरमा पर्ने पाँचपोखरी दहबाट उत्पन्न भएको इन्द्रवती नदी जिल्लाकै दोस्रो नदी हो । पाँचपोखरी दह पाँच वटा स–साना दह मिलेर बनेको छ भनिन्छ । यहाँ श्रावण पूर्णिमाको दिन पाँचपोखरीमा ठूलो मेला लाग्छ । यिनै कुण्डबाट निश्केको इन्द्रवती खोला दक्षिणमा पुग्दा ठूलो नदी बन्छ । त्यसैले इन्द्रवती नदीको धार्मिक महत्व पनि छ । यही पवित्र नदीको नामबाट पालिकाको नाम राखिएको हो । सामाजिक परिवर्तन आफैंबाट गरेकी मीरा अधिकारी लामासँग विविध विषयमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानी :

अहिले केमा व्यस्त हुनुहुन्छ ? 
गाउँपालिकाका विभिन्न वडाको विकास निर्माणका काममा अलिअलि व्यस्त छु । इन्द्रावती गाउँपालिकामा (साविकका १२ वटा गाविस) अहिले १२ वटा वडा रहेका छन् । ती सबै वडाहरुमा पुगेर जनताका पीरमर्का बुझ्ने र परेका समस्या समाधानका लागि पहल गरिरहेको छु  । कानुनले तोकेका केही कार्यकारी जिम्मेवारीहरु पनि छन् । त्यसको सम्बोधन र कार्यान्वयनको लागि पनि समय दिनुपर्ने हुन्छ । राजनीतिकभन्दा पनि कार्यकारी भूमिका बढी नै हुदो रहेछ । यो हाम्रो पहिलो अनुभव हो ।

उपप्रमुख नै न्यायिक समितिको संयोजक हुने कानुनी व्यवस्था छ, कस्ता प्रकृतिकका मुद्दा बढी आउछन् ?   
इन्द्रवती गाउँपालिकामा अंशबन्डा, जग्गाको किचलो, साँधसिमाना र घरेलु झगडाका मुद्दाहरु बढी आउने गरेका छन् । त्यसैगरी लोग्ने–स्वास्नीबीच हुने झगडाका मुद्दाहरु आउँछन् । त्यसमा कतिपय वैदेसिक रोजगारीमा गएकाहरु पनि छन् र नेपालमै बसोबास गर्नेहरुका पनि समश्या आउँछन् ।

श्रीमान्–श्रीमतीबीच हुन झगडाका मुद्दाहरु कुन प्रकृतिका हुन्छन्, माना चामल भराउने हुन्छन् कि अलग हुने वा छोडपत्र लिने ? 
लोग्ने–स्वास्नीबीच हुने झगडाहरु धेरैजसो जाँड, रक्सी खाएर गरिने घरेलु हिंसामा हुन्छन् । त्यसैगरी लोग्ने अथवा स्वास्नी वैदेशिक रोजगारीमा जाने र घरमा हुनेले परस्त्री वा परपुरुषतिर लागेर परिवार बिग्रिएका मुद्दाहरु आउँछन् । कतिपय बिनागल्ती एकअर्काप्रति गरिने शंकाले पनि घर–झगडा हुने गरेको पाइन्छ । त्यस्तो मुद्दाहरुमा धेरैजसो हामीले सम्झाइबुझाई गरेर मिलाएर पनि पठाएका छौं । कतिपय चाहीं छोडपत्रसम्मको मुढमा पुगेकाहरुलाई जिल्ला अदालत नै पठाउँछौं । हामीले मिलाउने मुद्दा भनेको आपसी समझदारीमा मेलमिलापको माध्यमबाट मात्रै हो ।

समग्रमा विकास केलाई भन्ने ? यो प्रश्न जटिल छ । मूल कुरा आय आर्जन हो, त्यसले मात्र जनतामा समृद्धी ल्याउँछ ।

श्रीमान् पीडित महिलाका कस्ता खाले मुद्दाहरु आउँछन् ? 
श्रीमान्बाट श्रीमती हिंसामा परेको मुद्दा केही दिनअघि पनि आएको थियो । उहाँहरु दुई जनाको कारणले बालबच्चामा सधैं झगडा भइराखेको अवस्था रहेछ । यसरी लामो समयदेखि भइरहेको झगडालाई दुवै जनालाई हाम्रो न्यायिक समितिमा बोलाएर छलफलपछि मिलाएर पठाइएको छ । त्यसपछि उहाँको व्यवहार राम्रो छ भन्ने सुन्नमा आएको छ । मेरो कार्यकालमा यस्ता प्रकृतिका ४, ५ वटा मुद्दा मिलाइसकेकी छु । अरु पनि झैझगडाको समश्या लिएर आउँनु हुन्छ तर हामी सकेसम्म यतै मिलाएर पठाउँछौं ।

अशिक्षाले हो कि अरु केही समश्य छन्, अर्थात महिलाहरुको लागि कस्तो कार्यक्रम ल्याउनुभएको छ ? 
आय आर्जनमा उहाँहरुको रुची छ, त्यो स्वभाविक हो । किन भने आय आर्जन भयो भने आत्मबल बढ्छ, परनिर्भरता हट्छ । जीवनमा समृद्धि आउँछ । उहाँहरुले विभिन्न किसिमका सीपमूलक तालिम, त्योसँगै व्यवासयिक आयआर्जनको काम रुचाउनु भएको छ । त्यसअनुसार नै मैले ती महिला दिदीबहिनीहरुलाई उहाँहरुको योग्यता, क्षमता र लगावको आधारमा विभिन्न किसिमका सीपमुलक व्यवसायिक तालिम दिने काम गरेकी छु । जसको आडबाट स्वरोजगारमुलक बनुन् भन्ने गाउँपालिकाको चाहना हो । त्यसैले महिला दिदीबहिनीहरुको क्षमता अभिबृद्धि तथा सीपमुलक कार्यक्रमहरुको आयोजना गरिएको छ ।

दुर्गम गाउँका महिलाहरुमा शिक्षाको कत्तिको समस्या देख्नुभयो ? 
जनचेतनाको अभाव छ, शिक्षा पाएकामा पनि चेतनाको अभाव महसुश भएको छ । त्यसैले, शिक्षाको समस्या भन्दा पनि हामीले उहाँहरुको आयआर्जनलाई जोड दिएका छौं । लक्षित वर्गका महिलाहरुमा शिक्षा, स्वास्थ्यको समस्या अलि खड्किएको छ । त्योसँगै आयआर्जनलाई जोड दिनको लागि सीपमूलक तालिम कोसेढुंगा सावित भएको छ । सीपमुलक तालिम अन्तर्गत ढाका बुनाई, गलैंचा बुनाई कार्यक्रमलाई अगाडि ल्याइएको छ । यसमा जो जुन कामको लागि इच्छुक हुनुहुन्छ, त्यही प्रकृतिको कामलाई फोकस गरिएको छ ।

विकास निर्माणको कुरा गर्दा शिक्षा, स्वास्थ्य, खानेपानी र सडक, कुनमा बढी जनअपेक्षा भएको पाउनु भएको छ ? 
विकास निर्माणको कुरा गर्नुपर्दा हाम्रोमा खानेपानीको बढी अभाव थियो । हिजो हामीले उम्मेदवार भएर भोट माग्दै गर्दा पनि केही बचनबद्धता गरेका थियौं । त्यसलाई मध्यनजर गरेर इन्द्रावती गाउँपालिकाको वडा नं. १, ८, ४, ६ र ५ मा एक घर, एक धाराको व्यवस्था गरिसकेका छौं । दोस्रो प्रामिकता सडक हो, त्यो हाम्रो पनि हो, जनताको पनि हो ।

बाटो र बिजुली आवश्यकतालाई कसरी व्यवस्थापन गर्नुभयो ? 
हामी निर्वाचित आउँदा केही ठाउँमा विद्युतीकरण थालनी भएको थियो भने अहिले अधिकांश ठाउँहरुमा विद्युतीकरण पुगिसकेको अवस्था छ । बाटोको बारेमा कुरा गर्नुपर्दा केही धुले बाटो त धेरै ठाउँमा पुगिसकेको छ । पिच गर्नको लागि केही ठाउँमा टेन्डर भइसकेको छ । हाम्रो कामको मूल्यांक गर्ने अबस्था आउँदै पनि छ । अर्थात कतिपय कामको परिणाम आउँन समय लाग्छ । हामी निर्वाचित भएर आउँदा यस गाउँपालिकाको धेरै ठाउँमा गाडी जाँदैनथ्यो । अहिले हरेक वडाका टोलटोलमा सडक पुगिसकेको अवस्था छ । समग्रमा बाटोघाटो पहिलेको भन्दा व्यवस्थित हुदैछ । यसलाई व्यवस्थित गरेर बाह्रै महिना गाडी चल्ने गरी सडक योजना अगाडी बढाउन लागिपरेका छौं ।

दलीत, उत्पीडितको लागि कस्ता प्याकेज कार्यक्रमको व्यवस्था गर्नुभएको छ ? 
हो, ठिक कुरा सोध्नु भयो । विपन्न वर्गका दलितहरुको लागि बजेटै छुट्ट्याएर कार्यक्रम अगाडि सारेका छौं । उनीहरुमा समृद्धि नल्याएसम्म नेपालमा समृद्धि आउदैन । त्यसको लागि उहाँहरुलाई सीपमुलक तालिम, क्षमताअभिबृद्धि कार्यक्रम र आर्थिक आयआर्जनका कार्यक्रममा जोड्ने प्रयत्न गरेका छौं ।

अब आउने निर्वाचनमा अध्यक्षको तयारी गर्दै हुनुहुन्छ, हो ? 
त्यो त जनताको मूल्यांकनमा भरपर्ने कुरा हो । उपाध्यक्ष हुँदा उहाँहरुको सुख दुःखमा कत्तिको सेवा गर्न सकेँ । मेरो कामबाट यहाँका जनता कत्तिको सन्तुष्ट हुनुभयो ? त्यसको फैसला यहाँका जनता र मेरो पार्टी नेपाली काँग्रेसले गर्ने हो ।  मेरो कार्यकालमा मैले गरेका काम र निर्वाह गरेको भूमिकालाई हेरेर उहाँहरुले मूल्याङ्कन गर्दा उपयुक्त ठहरिएँ भने हुन सक्छ । तर म आउँ वा नआउँ इन्द्रवती गाउँपालिकाका जनताको सेवा गर्न छाड्ने छैन ।

स्कुले पढाई सकिएपछि विवाह भयो । त्यो मेरो प्रेम विवाह थियो । त्यो पनि म बाहुन परिवारमा जन्मिएकी, लामा परिवारमा विवाह भयो । यसलाई सामाजिक क्रान्ति नै भन्नु पर्ला । 

पार्टीको कार्यसमितिमा पनि हुनुहुन्छ ?
म पार्टीको जिल्ला सदस्यमा निर्बिरोध चयन भएकी हुँ ।

 राजनीतिक रुपमा के महत्वकांक्षा लिनु भएको छ ? 
भविष्यमा पनि समाजसेवा गर्ने उत्कट चाहना छ । समाजसेवा मार्फत राजनीति नै गर्ने भनेर समर्पित भइएको हो । आउँदा दिनमा पनि राजनीतिबाटै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ । समाज सेवा र राजनीतिसँगै जोडिएर आउँछन् ।

तपाईं भोट दिएर निर्वाचित गराउने जनतालाई के भन्नुहुन्छ ? 
जसरी मलाई इन्द्रावती गाउँपालिकाका दाजुभाइ, दिदीबहिनीहरुले मत दिएर जिताउनुभयो । उहाँहरुलाई धेरैधेरै धन्यवाद ! दिन चाहन्छु । मैले आफूलाई भाग्यमानी पनि ठानेकी छु । किन भने मेरो जन्म घर बाहुन परिवारमा भयो भने कर्म घर मेरो तामाङ समुदायमा भयो । त्यसैले मलाई चुनाव जित्न पनि सजिलो भयो । दुवै समुदायका दाजुभाइ, दिदीबहिनीहरुले पनि उत्तिकै विश्वास गरेर मलाई मत दिनुभयो । उहाँहरुप्रति कृतज्ञ छु ।

निर्वाचनताका दिएको आश्वासनअनुसार जनता सन्तुष्ट छन् ? 
सबै जनता सन्तष्ट छन् भन्न सक्दिन अर्थात भनेजति सबै पुरा भए भन्न सक्दिँन । तर मैले निर्वाचनका बेला यस गाउँपालिकाका १२ वटै वडामा एक घर, एक धाराको अवधारणा ल्याएकी थिएँ । त्यो लगभग पुरा भइसकेको छ । बाटोघाटो पनि केही बाहेक बनेका छन् । अब थोरबहुत कामहरु सम्पन्न बाँकी छन् । अन्य विकास निर्माणका कामहरु पनि सम्पन्न भइरहेका छन् । त्यसैले आगामी दिनमा पनि यहाँका जनताले मलाई पत्याउँछन् भन्ने लाग्छ । समग्रमा विकास केलाई भन्ने ? यो प्रश्न जटिल छ । मूल कुरा आय आर्जन हो, त्यसले मात्र जनतामा समृद्धी ल्याउँछ । आय आर्जन बढाउने काममा हामी लागेका छौं ।

प्रशंग बदलौं, तपाईंको बाल्यकाल कस्तो रह्यो ? 
सामान्य पारिवारिक वातावरणमा हुर्के–बढेकी हुँ । मेरो जन्म इन्द्रवती गाउँपालिका वडा नं. ४ हो । अहिलेको घर चाँही वडा नं. ९ नबलपुरमा हो । म नांै महिनाको हुँदा बाबा बित्नुभएको थियो । त्यसपछि मेरो लालनपालन र पढाइलेखाई दाजुले गराउनु भएको हो । स्कुले पढाई सकिएपछि विवाह भयो । त्यो मेरो प्रेम विवाह थियो । त्यो पनि म बाहुन परिवारमा जन्मिएकी, लामा परिवारमा विवाह भयो । यसलाई सामाजिक क्रान्ति नै भन्नु पर्ला ।

उहाँको के कुराले तपाईलाई आकर्षित ग¥यो ? 
उहाँको भद्रताले नै आकर्षित ग¥यो । श्रीमान्को साथ, सहयोगको प्रेरणाले नै म राजनीतिमा आएकी हुँ । विवाह अगाडि राजनीति मैले खासै बुझेकी थिइँन । विवाह भएपछि मेरो श्रीमान समाजसेवी र राजनीतिक व्यक्ति भएकाले मेरो पनि चाहना बढेको हो । मैले विद्यार्थी जीवनमा खासै राजनीति गरेको थिइँन ।

श्रीमानबाट  राजनीतिमा पूर्ण रुपमा सहयोग पाउनुभएको छ ? 
हो, पाएकी छु । उहाँले नै मलाई राजनीतिमा ल्याउनुभएको हो । हामी दुवैको विचार मिल्ने भएकाले पनि दुवै सफल भएका हौं । श्रीमान्बाट सहयोग नभएको भए मैले चाहेर मात्र राजनीतिमा आउँनै सक्दिन थिएँ नि । त्यसैले मलाई राजनीतिमा स्थापित गराउनेमा उहाँकै देन छ ।

घरपरिवार र जनतालाई दिनुपर्ने समय कसरी व्यवस्थापन गर्नुहुन्छ ? 
सबैभन्दा ठूलो कुरा इच्छाशक्ति हो । जनताको सेवा गर्ने भित्री चाहना र इच्छा भएपछि समय आफै व्यवस्थापन हुन्छ । मैले त्यहीं चाहना र इच्छाशक्तिलाई अंगिकार गरेर समय व्यवस्थापन गरकी छु । फेरि मेरो पारिवारिक माहोल पनि राजनीतिक र समाजसेवामा समर्पित छ । मेरा श्रीमान् पनि राजनीतिक व्यक्ति भएकाले मलाई जनताको सेवामा समय छुट्याउन सजिलो भएको छ । आर्यक्षेत्रको महत्व बुझ्ने श्रीमान् भएपछि सफलता हासिल गर्न सजिलो हुने रहेछ ।