प्रचण्ड–माधव समूहमा जिल्ला नेतृत्वको सवालमा नयाँ विवाद

info khabar ११ फाल्गुन २०७७, मंगलवार ११:५२
प्रचण्ड–माधव समूहमा जिल्ला नेतृत्वको सवालमा नयाँ विवाद

पार्टी एकिकरणमा ६०–४० तर अहिले ५०–५० प्रतिशत कुरा मिलाइयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव नेपाल समूहमा जिल्ला नेतृत्वको सन्दर्भमा विवाद भएको छ । सोमवार सार्वजनिक गरेको ६८ वटा जिल्लाको नेतृत्वको सूचीबारे ‘विवाद उत्पन्न’ भएको हो । विवादलाई मिलाउन छलफल अघि बढाइएको नेताहरूले बताएका छन् । सोमवार अपराह्न अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालद्वयको हस्ताक्षरमा सातवटै प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष र सचिव चयन गरी जिम्मेवारी दिइएको सूची विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

दुवै पक्षबाट पार्टी समिति तथा जनवर्गीय सङ्गठनहका विभिन्न तहमा पदाधिकारी र सदस्य संख्या ५०–५० प्रतिशत हुनेगरी मिलाउने उल्लेख गरिएको नौ बुँदे मापदण्डमा दुवै अध्यक्षले हस्ताक्षर गरेका थिए । यसअघि २०७४ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणहुँदा ६० र ४० को अनुपातमा जिम्मेवारी बाँडफाँट गरिएको थियो । एकताको बेला नेकपामा झन्डै साढे चार सय जनाको केन्द्रीय समिति बनाइएको थियो ।

उक्त सूचनामा माघ १ र २ गते बसेको स्थायी समितिको बैठकले केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेअनुसार नियुक्ति गरिएको उल्लेख गरिएको थियो । तर विगतमा नेकपाको पूर्वमाओवादी पक्षमा रहेका उक्त समूहका एक जना कार्यालय सचिवले उक्त सूची अन्तिम नभएको र त्यसमा परिमार्जनको काम भइरहेको बताएपछि यो विवाद सार्वजनिक भएको हो ।

कुनैकुनैमा व्यक्ति उही हो, तर एउटा नाम हुनुपर्नेमा अर्को प¥यो । प्राविधिक रूपमा मिलाउनुपर्ने भयो । दुवै अध्यक्ष बसेर त्यसलाई हेरिरहनुभएको छ । श्रीराम ढकालका अनुसार सोमवार वा मङ्गलवार पार्टीका दुई अध्यक्षले कहिले उक्त नामावली टुङ्गो लगाउँछन् आफूले भन्न नसक्ने बताए । पूर्वएमाले पृष्ठभूमिका नेकपाका अर्का कार्यालय सचिव गङ्गालाल तुलाधारले आफूलाई पछिल्लो परिस्थितिबारे थाहा नभएको बताए ।

पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षलाई बराबर हैसियत दिँदै साङ्गठानिक संरचनालाई पूर्णता दिने विषयले पछिल्लो विवाद उब्जाएको नेताहरुले उल्लेख गरेका छन् । दुबै अध्यक्षले आइतवार अन्तिम रूप दिएको मापदण्डमा प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी समिति तथा जनसङ्गठनका पदाधिकारीहरूमा सामान्यतया साबिकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने सहमति भएको थियो ।