कोरोना भाइरसविरुद्धको खोप ल्याउँदै अमेरिकी कम्पनी

info khabar १३ फाल्गुन २०७७, बिहीबार १२:२२
कोरोना भाइरसविरुद्धको खोप ल्याउँदै अमेरिकी कम्पनी

खोप फाइजर र मोडेर्नाकोभन्दा सस्तो पनि

काठमाडौं । अमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा जोनसन एन्ड जोनसनको एक मात्रा (डोज) लगाउँदा हुने कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको पाइएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । सम्भवतः केही दिनभित्रै अमेरिकामा आधिकारिकता पाउने यो कोभिडविरुद्धको तेस्रो खोप हुनेछ । यो खोप फाइजर र मोडेर्नाकोभन्दा सस्तो र भण्डारण गर्न पनि सहज हुनेछ । यसलाई सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिन्छ । समग्रमा गरिएको परीक्षण नतिजामा खोप लगाएको २८ दिनपछिका मानिसहरू र सामान्यखाले लक्षण भएका मानिसहरूलाई हेरिएको थियो । खोप लगाएको २८ दिनपछि सहभागीमध्ये कसैको पनि निधन भएन भने कोही पनि अस्पताल भर्ना हुनु पनि परेन । विज्ञहरूको एउटा बाह्य समितिले शुक्रवार एफडीएले यो खोपलाई आधिकारिकता दिनुपर्छ कि पर्दैन भनेर सुझाव दिनेछ । ह्वाइट हाउसका एक जना अधिकारीले बाइडन प्रशासनले आगामी साता कम्तिमा ३० लाख मात्रा जोनसन एन्ड जोनसनको खोप बाँड्ने अनुमान गरेका छन् ।

जोनसन एन्ड जोनसनले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले उल्लेख गरेका छन् । जोनसन एन्ड जोनसनबारेको यो नयाँ खबर कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप प्राप्त गर्ने घाना पहिलो देश बनेका बेला आएको हो ।
दक्षिण अफ्रिका र ब्राजिलमा समग्रमा रोगबाट बचाउने कुरामा यसको प्रभावकारिता कम देखिएको थियो किनकी त्यहाँ नयाँ प्रकारका कोरोनाभाइरसहरू देखिएका छन् । परीक्षण विवरणले गम्भीर बिरामीलाई बचाउनका लागि उक्त खोप ८५ प्रतिशत प्रभावकारी रहेको देखाएको छ । तर समग्रमा भने यो ६६ प्रतिशत मात्र प्रभावकारी देखिएको छ । कम्पनीले मार्च अन्त्यसम्ममा २ करोड मात्रा खोप आपूर्ति गर्ने योजनामा रहेको जनाएको छ ।