हेलम्बुमा पर्यटनको अत्याधिक सम्भावना छ

info khabar २६ फाल्गुन २०७७, बुधबार १७:०१
हेलम्बुमा पर्यटनको अत्याधिक सम्भावना छ

गोपाल लामा, होटल व्यवसायी

गोपाल लामा, होटल व्यवसायी हुनुहुन्छ । उहाँको होटल हेलम्बु गाउँपालिकाको सेर्माथाङमा छ, काठमाडौंमा पाइने सुविधा हेलम्बुका केही होटलमा मात्र पाइन्छ । उहाँसँग हेलम्बु पर्यटनका विषयमा केन्द्रीत भएर हामीले कुराकानी गरेका छौं । उहाँसँग गरिएको कुराकानी–   

टुरिजमको हिसाबले हेलम्बुका कुन कुन ठाउँ प्राथमिकतामा पर्छन् ?
पर्यटनका हिसावले हेलम्बुको सबैभन्दा नाम चलेको मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ हुन् । यद्यपी धार्मिक हिसावले पाल्चोक भगवतीको प्रसिद्धि देशभित्र कम छैन । यी ठाउँ किन दर्शनीय भयो भन्दा सेर्माथाङको भ्यू (दृष्यावलोकन) राम्रो देखिन्छ । सायद हेलम्बु रुटमा सबैभन्दा राम्रो भ्यू देखिने भनेकै मागेनगढ, ककनीडाँडो, तार्केघ्याङ जस्ता ऐतिहासक ठाउँ छन् । हेलम्बु गाउँपालिकामा करिब ४० भन्दा बढी गुम्बा छन्, ती गुम्बामध्ये केही मल्लकालमा बनेका छन् भने केही राणाकालमा बनेका छन् । हेलम्बुमा ३ वर्ष ३ महिना लगाएर मेरिटेसन गर्ने ठाउँ पनि रहेछ । मेरिटेसनको पनि फरकफरक धार हुँदोरहेछ । यो ठाउँमा मेरिटेसन गर्न पहिला सिक्किम, भुटानबाट राजकुमारहरु पनि आउनुहुन्थ्यो भन्ने सुनेको थिएँ । मेलम्चीघ्याङमा गाउँबस्ती पनि ठूलो छ । बस्तीकै हिसावले कुटुमसाङ पनि ठूलो छ । ऐतिहासिक हिसाबले यी तीन ठाउँ नाम चलेका छन् । हेलम्बुलाई टुरिजमको आकर्षण बनाउन डोमेस्टिक एक्टीभिटी नै चाहिन्छ । यहाँ जर्मनहरु आउँछन्, एक रात बस्छन् जान्छन् । धार्मिक पर्यटन, प्राकृतिक पर्यटन, ट्रेकिङ पर्यटनजस्ता कुरा प्रवर्धन गर्न आबश्यक छ, अलिअलि भैपनि रहेको छ ।

यसलाई कम्तीमा सात दिनको प्याकेज बनाउनुप-यो ?
हो, नेपालीहरुमा एक, दुई दिन हिड्ने बाँनी बसेको छ । अहिले चाहीँ दुई, तीन दिनभन्दा बढीको प्याकेज छैन । अब होटल मेनेजमेन्ट पनि यही सिकाइनु पर्छ । लोकल व्यक्तिलाई त्यस्तो ट्रेनिङ दिदा स्थानिय होटल व्यवसायीले तलिम प्राप्त गर्ने दुबै पक्षले लाभ पाउँछन् । गाउँमा समृद्धि यसै गरी आउने हो । किन भने स्थानिएले कमाएको रकम यही ठाउँमा बस्छ । अहिले हेलम्बु गाउँपालिको बाख्रापालनको पनि तालिम यहीँ दिइरहेको छ । केही दिनपछि कुखुरापालनको ग्रुप पनि आउँदैछ । त्यो चाहीं टिपिकल लोकलको लागि हो ।

हेलम्बुमा पहिलो होटेल कसले खोलेको रहेछ ?
पहिले पहिले त्यस्तो होटेलै भनेर थिएन । ती होटल अहिले पनि चलिरहेका छन्, त्यतिबेला होमस्टे थिए भनौं न, अहिले होटलको रुप दिइएको छ, त्यही नै हो । पहिला ट्रेकिङको लागि मान्छेहरु आउँथे । अनि यहाँबाट गाइडहरु जाने चलन थियो । यहाँका होटेलहरु टि–हाउसबाटै सुरु भएको हो ।

मानिसको लागि हावा र पानी भनेको आफूखसी उपभोग गर्न पाउनुपर्छ । एउटा गरिबभन्दा गरीव मान्छेले पनि पानी बोतलमा होइन, आफू खुसी निःशुल्क उपभोग गर्न पाउनु पर्छ भन्ने मेरो मान्यता छ । 

तपाईको होटलको क्षेत्रफल कति छ ?
होटलको कम्पाउन्ड घेरिएको क्षेत्रफलसमेत गर्दा ३ रोपनी जति छ । अलिकति हामीले स्कुललाई दिएका छौं, फुलबल ग्राउण्डको लागि । यो जग्गा मेरो आफ्नै हो । यो चाहीं २५ वर्ष अगाडि नै स्कुल सार्छु भनेर जग्गा किनेको हो । किन्ने भन्नाले पनि सट्टापट्टामा लिएको हो । गाउँको जग्गा दिएर जग्गाको जग्गै लिएको हो । यहाँ जम्मा ४० रोपनी क्षेत्रफल छ । यहाँ ट्रेकिङका लागि धेरै सुविधाजनक छ । यहाँ आउन प्लेन चढ्नुपरेन । खाना पनि सकेसम्म लोकल नै तयार पार्न सकिन्छ । तातोपानीको लागि बिजुलीको पनि राम्रो व्यवस्था छ । बिजुलीमा पनि ६० देखि ८० प्रतिशतसम्म छुट दिइएको छ । यो कन्सेप्टले इन्टरनेशनल अवार्ड पनि पाएका छौं । जर्मनीको जुन कम्पनीले लगानी गरेको छ, उनीहरुले फाइदा लिएका छन् । थोरबहुत हामीले पनि पाएका छौं । यही कन्सेप्ट अष्ट्रेलिया, युएसएलगायत अन्य मुलुकमा पनि बनिसकेको छ । यो क्षेत्रमा नेपालीहरुले जति लगानी गरेका छन् । त्यो सामुहिक रुपमा गरेका छन् । अर्को हेलम्बुका मान्छेहरु काठमाडौंतिर माइग्रेसन भएपछि जंगलहरु बढ्दै गएको छ । खुम्बु क्षेत्रमा पहिला रुखै थिएन, अहिले त्यहाँ पनि हरियाली छाउन थालेको छ । अर्को हिउँ चाहीं घट्दै गएको छ । मूलहरु पनि सुक्दै गएको छ । पहिला यहाँका जंगलमा कालिज र जंगली जनावरहरु धेरै थिए ।

गोसाइँकुण्ड जाने बाटोका कारण पनि हेलम्बु चर्चित थियो, रुट यहीं हो ?
गोसाईँकुण्ड जानेबाटो यो मात्रै होइन, दुईवटा छन् । एउटा काठमाडौंबाट कुटुमसाङ भएर सिधैं जाँदा अझ नजिक पर्छ । यहाँबाट पनि जान सकिन्छ । गोसाईंकुण्ड क्रस गरेर लाङटाङतिर जान पनि सकिन्छ ।

अहिले यहाँ कति होटेलहरु छन् ?
सेर्माथाङमा दर्ता भएर चलिरहेको दुईवटा मात्रै होटल छन् । त्यो चाहीं हाम्रो र कृष्णफल । हामीले होटेल बनाउन भनेर खोलेको पनि होइन । यो स्कुलमा होटेल म्यानेजमेन्ट पढाउने हो । त्यसको लागि होटेल चाहियो । त्यसैले हामीले होटल चलाएका हौं । मेरो छोरी हेम्समा डिग्रीको थेसिस गरिरहेकी थिइन् । त्यसलाई कमर्सियल एप्लिकेसन बनाउनु थियो । उनी त्यो थेसिसको लागि नेपाल आएकी थिइन् । उनको थेसिसमा मैले सघाउँदा हेम्सप्रति मेरो चाख बढ्यो । त्यो गाँजाको डाँठ र चनाबाट बनाउने हो । त्यसको रिसर्चको क्रममा जनकपुरमा डा. धिरज साहले भरखरै पीएचडी गरेर फर्किएका रहेछन् । उनले हेम्सको बारेमा काम गरिरहेका थिए ।

त्यसका लागि गाँजाको डाँठ कहाँबाट ल्याउनुहुन्छ ?
यो डा. धिरज साहले बझाङ, बाजुराबाट ल्याउनु हुँदोरहेछ । गाँजाको अरु सबै भाग फालेर सफा गरेर डाँठ मात्रै ल्याउँछन् । त्यहाँबाट जनकपुर ल्याउने र काँचो डाँठलाई सुकाएर काट्ने काम उहाँले गर्नुहुन्छ । त्यहाँबाट मलाई प्याकेजिङ गरेर सप्लाई गर्नुहुन्छ । यसरी गाँजाको डाँठ र चुना गरेर झन्डै १८ टनजति सामान हामीले ल्याइसकेका छौं । यो बाहिरी मुुलुकको सबै ठाउँमा जान्छ । अमेरिकनहरुले यसरी तयार गरिएको गाँजाको डाँठबाट पेपरलगायत धेरै चिज बनाउने रहेछन् । गाँजाको डाँठबाट लुगालगायत धेरै चिजहरु बन्छन्, यो यहाँहरुलाई जानकारी भएकै कुरा हो । अहिले यसको ग्रास रुटमा काम गर्ने सांसद शेरबहादुर तामाङलगायत धेरै छन् । पहिला चाहीं म पनि गर्थेँ । नेपालमा गाँजा खेति हुँदासम्म रोल्पालगायत पश्चिमका हिमाली जिल्लाहरु एकदमै सम्पन्न थिए भन्ने कुरा थाहा पाइयो ।

यो ठाउँमा मेरिटेसन गर्न पहिला सिक्किम, भुटानबाट राजकुमारहरु पनि आउनुहुन्थ्यो भन्ने सुनेको थिएँ । मेलम्चीघ्याङमा गाउँबस्ती पनि ठूलो छ । बस्तीकै हिसावले कुटुमसाङ पनि ठूलो छ । ऐतिहासिक हिसाबले यी तीन ठाउँ नाम चलेका छन् । 

अहिले हेलम्बुमा कतिवटा स्तरीय होमस्टेहरु छन् ?
पहिला भएको त भूइचालोले सबै भत्कायो । सन् २०१५ मा भूइँचालो आयो । २०१६ को अन्तिमतिर नेपाल सरकारले समर्थ डिफेट खोलेको थियो । त्यसबेला लाङटाङ–हेलम्बु टुरिजमको हब भइसकेको थियो । त्यसैले यहाँपनि नेपाल सरकारले केही हेरिदिनुपर्छ भनेछन् । त्यसबेला म पनि रिकन्स्ट्रक्सनको काम गरिरहेको थिएँ । सुमित बरालजी त्यतिखेर सभापति हुनुहुन्थ्यो । उहाँसँग भेटघाट भयो । अनि कहाँबाट सुरु गर्ने सबैतिर भत्किएको छ । त्यसपछि जर्मनीको एउटा कम्पनीसँग सहकार्य गर्ने कुरा भए छ । त्यसले नेपालमा पनि ३० वर्षदेखि काम गरिरहेको रहेछ । त्योसँग पनि कनेक्सन भयो । नेपालबाट पनि सुमितजीहरुसँग भेटघाट भएर हेलम्बुलाई पनि केही गरौं भनेर कमन इन्ट्रेस्टमा काम गर्न खोजियो । सभापतिजीले खासै केही गर्न सक्नुभएन दुई वर्षको समयमा के गर्न सक्नुहुन्थ्यो र । उहाँले एउटा साइनेक्स चाहीं बनाउनुभयो । चिसापानीदेखि हेलम्बुसम्म सर्किट बनाउनुभयो । सुन्दरीजलबाट आएको चिसापानी, कुटुमसाङ, मागेनगढ, मेलम्ची घ्याङ, तार्किघ्याङ, गांङयुल, स्यामाथाङ भएर आउने एउटा सर्किट छ । यहाँको सर्किट एकदमै क्लासिक छ । धेरै ठूलो पनि भएन, धेरै सानो पनि भएन । सबै दुई मिटरको हाराहारीमा छ । अर्को बन्दै गरेको ग्रेटट्रेलले पर्यटकहरुलाई आकर्षित गरेको छ ।

हेलम्बुमा विदेशी–स्वदेशी पर्यटक कहिलेदेखि आउन थालेका हुन् ?
२०१८,०१९ सालबाटै मान्छेहरु आउन सुरु गरेका हुन् । एउटा धार्मिक हिसावले मान्छेहरु आउँछन् । धार्मिक हिसावले आउनेहरु कति सय वर्ष अगाडीदेखि आए भन्ने कुरा अनुमान गर्न अप्ठ्यारो छ । किन भने गुरु रिम्पोछेले हेलम्बुमा ३ वर्ष ३ महिना ध्यान गर्नु भएको कुरा त धेरैतिरबाट प्रमाणित नै भैसकेको छ । उहाँले ध्यान गर्नु भएको गुफामा अहिले पनि ध्यान हुन्छ ।
संस्थागत रुपमा त्यसरी टुरिष्टहरु आउनथालेको केही वर्ष मात्र भयो । यसरी हेलमबु घुम्न आउनेहरुको रुटमा प्राइस पनि एउटै हुन्थ्यो । उनीहरुले चारवटा अपरेटर नियुक्ति गरेका थिए । त्यसमा एउटा रोयल माउन्टेन, माउन्टेन लामा स्कर्सन, इको ट्रेड र तेन्जिङ टे«क्स हो । यी चारवटालाई पालैपाले गरेर अपरेटर पठाउँछन् । उनीहरुको डिमान्ड अनुसारको १० वटा लजहरु मात्रै छन् । मेलम्चिघ्याङमा पूर्णबहादुर गौतम सरले सुरु गर्नुभएको छ । उहाँ पहिला टिचर हुनुहुन्थ्यो । उहाँले यतै विवाह गरेर बस्नुभएको छ । पहिला रातो बंगलामा पढाउनुहुन्थ्यो । उहाँले पनि स्कुलबाहेक होमस्टेमा लगानी गर्नुभएको छ । हामीले तरकारीखेतीदेखि कुखुरा पालन पनि गरेका छौं । खानेकुराहरु ७०, ८० प्रतिशतजति यहीं उत्पादन गर्ने गरेका छौं ।

हेलम्बुलाई कसले यति चर्चित बनायो अर्थात यो रुट कसले सुरु गरेको ?
यसको सुरुवात त जिमी रोवर्टले गरेको हो । थारेपाटी यतापट्टि मागिनगढबाट सिधै मेलम्ची घा्याङ जान सकिन्छ । क्लासिक रुपमा भएका लजहरु सबै भत्किइसकेको छ । यहाँ पहिला जुन लजहरु चलाएको थिए । अहिले सबैमा एटेज बाथरुम भएका छन् । सबैमा तातोपानी आउने बनाइएको छ । यो क्वालिटीको लज चलाउन स्थानीय लगानीकर्ताले पनि ५० लाखदेखि एक करोडसम्म लगानी गर्नु परेको छ । यो क्वालिटीको लजलाई पर नाइट ३५ युरो दिने ग्यारेन्टी गरिएको थियो । यो मोडालिटी अनुसारको लजको सुरुआत भइसकेको छ । यो क्वालिटीको लज सुरु भएको ३ वर्ष भइसकेको छ । अरुको दुई, तीन तले भएकाले छिटै फिनिसिङ भयो । हामीले चाहीं ठूलो बनायौं, त्यसैले अलि ढिला भएको छ । बाहिर नसकेपनि भित्र फिनिसिङ गरेर सुरु गरेका छौं । दुई वर्षदेखि चलेका होमस्टे कोभिडले गर्दा सबै बन्द छन् ।

तपाईं यो क्षेत्रमा लाग्नुभएको कति भयो ?
म यो क्षेत्रमा लागेको त्यस्तै ४, ५ वर्ष भयो । बेलायतबाट म नेपाल फर्किएपछि लागेको हुँ । टुरिष्ट ल्याउने प्राइभेट क्षेत्रले हो । त्यसको लागि स्रोत भनेको गाइडहरु नै हुन् ।

चार, पाँच वर्षको अनुभवले हेलम्बुको टुरिजमलाई विकास गर्नको लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
सबैभन्दा पहिला त टुरिष्टहरुका लागि सुविधाजनक बसोवासको व्यवस्था हुनुप-यो । यहाँ आइसकेपछि उनीहरुले चाहेअनुसारको बस्ने ठाउँ हुनु पर्छ । उनीहरुले चाहेजस्तो खाने कुराको सुविधा हुनु पर्छ । प्राकृतिक दृष्य, हावापानी उनीहरुले खोजेजस्तो छदैछ । सुविधासम्पन्न लजहरु चाहीं अलिकति महंगो पर्न जान्छ । त्यसको लागि कमर्सियल लज होमस्टे पनि चाहिन्छ । हामीले सबैभन्दा महंगा संरचनामा बनाएर मात्रै हुँदैन । त्यसका लागि खर्च गरेर पनि हुँदैन । टुरिष्टहरुले यहाँ आएपछि स्थानीय चिज के हो त त्यो हेर्न चाहन्छन् । अहिले मैले कुखुरा पालेको भन्दा यहाँ लोकल चिजहरु केही छैन भनेर टुरिष्टहरुले सोध्छन् । हरेक चिजहरु बाहिरकै छ । त्यो त उनीहरुले अन्त पनि देखिसकेका हुन्छन् । हेलम्बुमा  हिजोका लोकल चिजहरु सबै हराइसकेका छन् । एकजनाले ललितपुरको लुभुमा सुरु गरेका छन् । कताकताबाट चल्ला संकलन गरेर । उनले नामै हेलम्बु कुखुरा भनेर राखेको छ । हेलम्बुको कुखुरा कालो र सेतो छिर्केमिर्के छ । उनीहरुले हेलम्बुको कुखुरा कहाँबाट लगे, त्यो कुरा मलाई नै थाहा छैन । त्यसमा एकजना भरखरको अधिवक्ताले लगानी गरेका छन् । अर्को इण्डियन आएर नेपालीसँग विवाह गरेर बसेका छन् । टेक्निक उनैसँग रहेर लगानीको लागि एकजना पण्डितले गरेका छन् । बढिमा ३० वर्षका व्यक्तिले लगानी गरेका छन् । उहाँसँग मैले पनि लोकल कुखुरा मागेको छु । हिजो यहाँ जुन कल्चर थियो, त्यो कल्चर झल्किने घरहरुसबै भत्किइहाले । त्यसैले यहाँ लगानीको वातावरण सबै राम्रो छ भन्न सकिन्छ । सबै ग्राहकहरु पनि एकै खालका हुँदैनन् । यहाँ आएर एक, दुई दिन बसेपछि अन्य एक्टिभिटीहरु चाहिन्छ । त्यसमा ट्रेकिङ हो, त्यो सबैले रुचाउँदैनन् ।
अर्को यहाँ पानीको समस्या छ । सिजन भनेको चैत, वैशाख, जेठ हो । त्यो बेला सुख्खा मौसम हो । अब पानी नै भएन भने कसरी टुरिष्ट आउने ? दुई, तीन ठाउँमा पानीको सुविधा भए अलि राम्रो हुनेथियो । त्यसको लागि १०, १५ लाख लगानी भए ड्रममा पानी राखेर पाइपको माध्यमबाट पानी मोटरबाट चलाउन सकिन्थ्यो । मानिसको लागि हावा र पानी भनेको आफूखसी उपभोग गर्न पाउनुपर्छ । एउटा गरिबभन्दा गरीव मान्छेले पनि पानी बोतलमा होइन आपूmखुसी निःशुल्क उपभोग गर्न पाउनु पर्छ भन्ने मेरो मान्यता छ ।