भारतमा संक्रमितमध्ये एकै दिन ६८४ जनाको निधन

info khabar २६ चैत्र २०७७, बिहीबार १०:५३
भारतमा संक्रमितमध्ये एकै दिन ६८४ जनाको निधन

बुधबार १२ लाख ८ हजारको परीक्षण गर्दा १ लाख २६ हजारभन्दा बढी संक्रमित
काठमाडौं । भारतको दिल्ली लगायत देशभर कोरोना भाइरसको संक्रमण बढेपछि राती केही शहरमा कफ्यु लगाइने भएको छ । नेपालको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टा (७, अप्रिल) मा १२ लाख ८ हजार ३२९ जनाको नमुना परीक्षेण गर्दा १ लाख २६ हजार ३१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६, अप्रिलमा १२ लाख ११ हजार ६१२ जनाको नमुना परीक्षण गर्दा १ लाख १५ हजार २६९ जना संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (७, अप्रिल) मा ६८४ जनाको संक्रमणबाट ज्यान गएको छ ।

६, अप्रिलमा ६३१ जना कोरोना भाइरसको संक्रमणबाट निधन भएको थियो । नेपाली समय अनुसार चैत २६ गते बिहीबार बिहान ७.०० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ छ । भारतमा १ करोड १८ लाख ४८ हजार ९०५ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । संक्रमितमध्ये १ लाख ६६ लाख २०८ जनाको ज्यान गैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै ९ लाख १० हजार २६४ पुगिसकेको छ, यो संख्या क्रमशः बढ्दै गएको छ । भारतमा कुल संक्रमितमध्ये १ लाख ६६ हजार ८९२ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।