बेलायतले यात्रामा प्रतिबन्ध लगाएका मुलुकमा भारत पनि सूची

info khabar ८ बैशाख २०७८, बुधबार १०:४५
बेलायतले यात्रामा प्रतिबन्ध लगाएका मुलुकमा भारत पनि सूची

भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि बेलायति प्रधानमन्त्रीको भ्रमण रद्द
काठमाडौं । भारतमा पहिलो पटक भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट यूकेमा पत्ता लागेको छ । स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने अनुमान गरेका छन् । यसअघिको संक्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने विज्ञहरुले बताएका छन् । यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ । तिनैमध्ये भारतीय भेरिअन्ट (बी.१.६१७) का १०० भन्दा बढी संक्रमण ब्रिटेनमा भेटिएका हुन् । पब्लिक हेल्थ इङ्ल्याण्डले केही संक्रमणहरू अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नरहेको देखिएको जनाएको छ ।

त्यसको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ । नयाँ घटनाक्रमपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण योजना रद्द गरेका छन् । बेलायत सरकारले यात्रामा प्रतिबन्ध लगाइएको देशहरूको रातो सूचीमा भारतलाई पनि समावेश गरेको छ । ६ करोड ८१ लाख ७१ हजार ९२२ जनसंख्या भएको बेलायतमा ४३ लाख ९३ हजार ३०७ जना कोरोना भाइरसका संक्रमित छन् । कुल संक्रमितमध्ये १ लाख २७ हजार ३०७ जनाको मृत्यु भइसकेको छ । यता, भारतीय भेरिअन्ट यूके, ब्रजिल र दक्षिण अफ्रिकाका भेरिअन्ट जस्तै ’चिन्तित तुल्याउने भेरिअन्ट’ हो भन्ने पर्याप्त आधार नरहेको बताइन्छ ।

यूके वा केन्ट भेरिअन्ट (बी.१.१.१) धेरै जस्तो ब्रिटेनमा देखिएको छ र ५० वटा देशमा फैलिएको छ । दक्षिण अफ्रिका भेरिअन्ट (बी.१.३५१) ब्रिटेनसहित कम्तीमा २० अन्य देशमा भेटिएको छ । ब्रजिल भेरिअन्ट (पी.१) पनि अहिले ब्रिटेनमा भेटिएको छ । पुरानो स्वरुपको भाइरसले जेष्ठ नागरिक वा स्वास्थ्य जटिलता भएकाहरूलाई उच्च जोखिममा पार्ने गरेको थियो । यूके भेरिअन्टबारे केही अनुसन्धानहरूले मृत्युको ३० प्रतिशत उच्च जोखिमसँग त्यो सम्बन्धित रहेको देखाएका छन् । तर अहिलेसम्म निष्कर्षमा पुग्न यथेष्ट प्रमाणहरू छैनन् ।

प्रयोगशालाको परिणामले थोरै कम प्रभावकारी भए पनि फाइजर खोपले नयाँ भेरिअन्टविरुद्ध सुरक्षा दिने बताइन्छ । अनुमति पाउने अवस्थामा रहेका नोभाभ्याक्स र यान्सनका दुईवटा खोपले पनि केही न केही सुरक्षा दिने बताइएको छ । अक्सफोर्ड–आस्ट्राजेनेका खोप समूहको तथ्याङ्कले उक्त खोपबाट यूके भेरिअन्टविरुद्ध मात्र सुरक्षा दिने जनाइएको छ । दक्षिण एफ्रिकी भेरिअन्टबाट यसले कम सुरक्षा दिन्छ । मोडेर्नाको यसअघिको परिणामले दक्षिण अफ्रिकाको भेरिअन्टविरुद्ध उक्त खोप प्रभावकारी रहेको देखाएको छ ।