गत साताको तुलनामा १२६ प्रतिशतले संक्रमितको बृद्धि

info khabar ९ बैशाख २०७८, बिहीबार १३:५५
गत साताको तुलनामा १२६ प्रतिशतले संक्रमितको बृद्धि

नेपालमा कोरोना संक्रमणको अबस्था भयवह हुन सक्ने अनुमान
काठमाडौं । नेपालमा हिजो बुधबार २ हजार ३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यस अवधिमा देशभरि पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २२० जना र एन्टिजन विधिबाट १३१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा देशभरिका प्रयोगशालाबाट ८ हजार ८४४ नमुनाको पीसीआर र ८०३ जनाको एन्टिजन परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका जनाइएको हो । २ करोड ९५ लाख ५४ हजार ९४४ जनसंख्या भएको नेपालमा २ लाख ८९ हजार ७८७ जना कोरोना संक्रमित छन् । कुल संक्रमितमध्ये २ लाख ७६ हजार ९३ जनालाई संक्रमण निको भैसकेको छ ।

काठमाण्डौं उपत्यकाभित्र भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाण्डौंमा ७८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या १० हजार ५८२ रहेको सरकारले जनाएको छ । तीमध्ये संस्थागत आइशोलेशनमा ८३६ र होम आइशोलेशनमा ९ हजार ७४६ जना रहेको मन्त्रालये जनाएको छ । अहिले देशभरि कोभिड भएका १८० बिरामी आईसीयूमा रहेका र तीमध्ये ४७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा गत साताको तुलनामा १६२ प्रतिशतले संक्रमण बढेको मन्त्रालयले आयोजना गरेको प्रेस ब्रीफिङमा काठमाण्डौं विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठले बताएकी थिइन् । उनका अनुसार अहिले विश्वमा २७ प्रतिशतले र भारतमा ३५ प्रतिशतले मात्र साप्ताहिक वृद्धि देखिएको छ । भारतमा संक्रमण उच्चबिन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण उच्चबिन्दुमा पुगेको मन्त्रालयले जनाएको छ । यसपालि पनि त्यस्तै अवस्था आउने देखिएको अधिकारीहरूले बताएका छन् ।