बुधबारबाट संक्रमण प्रभावित जिल्लामा निषेधाज्ञा !

info khabar १३ बैशाख २०७८, सोमबार १२:११
बुधबारबाट संक्रमण प्रभावित जिल्लामा निषेधाज्ञा !

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बुधबारबाट निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको छ । पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको हो । यसका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको छ । आजको बैठकले कोभिड–१९ सङ्क्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्न सक्ने बताइएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार १५ गतेदेखि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष सीसीएमसीले निकालेको छ । बाँकेमा जस्तै स्थानीय प्रशासन (डीसीसीएमसी) लाई यो कार्यान्वयनको जिम्मा दिने सीसीएमसीको तयारी छ । आइतबारसम्म उपत्यकाका तीनै जिल्लासहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सय सक्रिय संक्रमित नाघिसकेका छन् । सीसीएमसीको प्रस्ताव अब बस्ने मन्त्रिपरिषदमा राखिने र त्यहीबाट अन्तिम निर्णय हुने मन्त्रीले जानकारी दिएका छन् ।