भारतसँग सीमा जोडिएका ३५ नाकामध्ये १३ वटा मात्र खुला

info khabar १९ बैशाख २०७८, आईतवार १२:०४
भारतसँग सीमा जोडिएका ३५ नाकामध्ये १३ वटा मात्र खुला

कोरोना संक्रमित बढी भएका मुलुकसँग हवाई मार्ग पनि बन्द गरिने
काठमाडौं । देशका २९ भन्दा बढी जिल्ला कोरोनाको दोस्रो लहरको उच्च संक्रमणमा परिसकेका छन् । २ करोड ९५ लाख६९ हजार २८१ जनाभन्दा बढी जनसंख्या भएको नेपालमा करीब ३ लाख २८ हजार ८९३ जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । शनिबार मात्र ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जना कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । त्यसैले शुक्रवार बसेको सीसीएमसीको बैठकले नेपाल–भारत सीममध्ये १३ वटा मात्र खुला गर्ने निर्णय गरेको छ । नेपाल–भारत सीमा ३५ नाकासँग जोडिएको छ । कोरोनासंक्रमणको पहिलो लहरका बेला ती नाका बन्द गरिएका थिए ।

तर पछि मन्त्रिपरिषद्ले खुल्ला गर्दै लगेका २२ वटा नाका पनि पूर्ण रूपमा बन्द गर्ने सीसीएमसीले सिफारिस गरेको छ । काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका खुल्ला राखेर आवागमन चालु राख्ने सिफारिस सीसीएमसीले गरेको छ । खुला राखिने प्रत्येक सीमानाकामा भारतबाट नेपालीहरूलाई स्वास्थ्य परीक्षण गरेर रिपोर्ट नआइन्जेल राख्नका लागि होल्डिङ सेन्टर निर्माण गरिने भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार होल्डिङ सेन्टरको जिम्मा विगतमा जस्तै नेपाली सेनाले लिने निर्णय भएको छ ।  बन्द रहने सीमानाकाबाट आवागमन पूर्ण रूपमा बन्द गराउनका लागि सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाउने सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले बताएका छन् । महनिरीक्षक खनालले भने– खुल्ला रहने नाकामा पनि व्यवस्थित आवागमनका लागि सशस्त्र प्रहरीको सुरक्षा हुन्छ । बन्द रहने नाकामा हामी गस्ती बढाउँछौँ ।

बढ्दो कोरोनाभाइरस संक्रमणबीच कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सङ्क्रमण तीव्र बनिरहेका मुलुकहरूबाट नेपाल आउने यात्रु रोक्न सिफारिस गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीले बताएका छन् ।  मन्त्री हृदयेश त्रिपाठीले भने– विदेशबाट आउने सबै उडान रोक्ने भन्ने होइन । जहाँ कोरोनाभाइरसको सङ्क्रमण बढी छ ती देशका उडान रोक्नका लागि सिफारिस भएको छ । कहिलेदेखि हवाई उडान बन्द गर्ने भन्ने विषयमा सीसीएमसीले कुनै सिफारिस गरेको छैन । नेपालमा कोरोनाभाइरसको सङ्क्रमण भयावह बनिरहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपील जारी गरेको थियो ।