अल्पमतका पोखरेलाई नै मुख्यमन्त्री बनाइयो

info khabar २० बैशाख २०७८, सोमबार १३:४५
अल्पमतका पोखरेलाई नै मुख्यमन्त्री बनाइयो

काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः विवादास्पद् ढंगबाट मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई सपथ खुवाउन प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादव मुख्यमन्त्री कार्यालयमा पुग्नु परेको थियो । पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएकाले पनि विवाद सिर्जना भएको हो । जसपाका निश्काशित प्रदेश सांसद चारै जनालाई हिजै मन्त्री बनाएका छन् । विपक्षी दलहरूको विरोधबीच आइतबार साँझ प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले पोखरेललाई शपथ गराएका छन् । प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद थिए । त्यसैले एकल बहुमतको सरकार गठन गर्ने रणनीतिसहित पोखरेलले राजीनामा दिएको प्रचार गरिएको थियो ।

तर, मुख्यमन्त्री पोखरेलको राजीनामालगत्तै एमाले सांसद विमला वलीले माओवादी केन्द्रमा लागेको घोषणा गरेकी थिइन् । उनी गत उपनिर्वाचनमा दाङ ३ (ख) बाट तत्कालीन नेकपाका तर्फबाट निर्वाचित भएकी थिइन् । त्यस्तै, सूर्य चिह्नबाट चुनाव जितेका नवलपरासीका अजय शाही र कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तवले पनि पोखरेलको साथ छाडेको घोषणा गरेका थिए  । शाही नवलपरासी पश्चिम १ ‘ख’बाट र श्रीवास्तव कपिलवस्तु २ ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका थिए  । अब प्रदेश सभामा एमालेका ३७ सांसद मात्रै रहेका छन् ।

हिजै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको प्रदेश प्रमुख कार्यालयले जनाएको थियो । प्रदेश प्रमुखले राजिनामा दिएका शंकर पोखरेललाई कामचलाउ मुख्यमन्त्रीको भूमिका दिएका थिए । नेपालको संविधानको धारा १६९(१)(क) अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा हिजै मिति २०७८ साल वैशाख १९ गतेका दिन माननीय प्रदेश प्रमुखले स्वीकृत गरेका हुन् । नेपाल संघीय संरचनामा गएर प्रदेश सरकार गठन भएपछि पदबाट राजीनामा दिने पोखरेल प्रथम मुख्यमन्त्री बनेर रेकर्ड राखेका थिए । तर त्यो घटनाको ५ घण्टा नपुग्दै उनैलाई मुख्यमन्त्री बनाइयो ।

माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत अन्य दलले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रश्ताव ४३ जनाको हस्ताक्षर सहित पेश गरेका थिए । लुम्बिनी प्रदेशमा ८७ सांसद छन् । प्रदेशसभा सदश्यमध्येबाट २० प्रतिशत अर्थात बढीमा १७ जनाको मन्त्रिपरिषद् हुने छ । लुम्बिनी प्रदेशका जिल्लहरुमा नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, पूर्वी रूकुम, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया गरी १२ वटा जिल्ला समावेस गरी प्रदेश गठन भएको छ । लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका दुई सांसदको पद गुमेपछि काँग्रेसलाई अलिक फाइदा भएको मानिएको थियो । सांसद्द्वय दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरेको छ ।

दुई सांसद कारवाहीमा परेपछि ८७ सदस्यीय लुम्बिनी प्रदेश सभाको कुल संख्या ८५ भएको छ । लुम्बिनी प्रदेशमा एमालेका ४१, माओवादी केन्द्रका १७ (एक सभामुख), काँग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चा (राजमो)का एकजना सांसद छन् । माओवादीले प्रदेशसभामा रहेका आफ्ना १९ सांसद मध्ये २ जनालाई कारबाही गरेपछि काँग्रेसको प्रतिपक्षी हैसियत यथावत रहेको हो । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार यथावत रहन भने उनलाई जसपाले साथ दिनुपर्ने हुन्थ्यो । अर्कोतर्फ काँग्रेस, माओवादी, जसपा र राजमोका एक सांसदले साथ दिँदा एमाले सरकार ढल्ने देखिएको थियो ।