भारतमा संक्रमितमध्ये ३४ लाख ५२ हजारभन्दा बढी सक्रिय संक्रमित

info khabar २१ बैशाख २०७८, मंगलवार १२:०१
भारतमा संक्रमितमध्ये ३४ लाख ५२ हजारभन्दा बढी सक्रिय संक्रमित

सोमबार १५ लाख ४ हजारको परीक्षण, ३ लाख ५५ हजार बढी संक्रमित
काठमाडौं । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले विभिन्न २३ राज्यमा कोरोना भाइरसको संक्रमण दर उच्च भएकोमा चिन्ता व्यक्त गरेका छन् । जवकि सात राज्यमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी रहेको जानकारी दिएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने भारत विश्वको तेस्रो मुलुक हो । अमेरिका, ब्राजिलपछि भारतको नाम आउँछ । अमेरिकामा ५ लाख ९१ हजार ५१४ जनाको संक्रमणबाट ज्यान गैसकेको छ भने ब्राजिलमा कोभिडका कारण ४ लाख ८ हजार ८२९ जनाको मृत्यु भएको छ । भारतमा २ लाख २२ हजार ३८३ जना कोरोनाको संक्रमणबाट निधन भएको छ ।

वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (३,मे) मा १५ लाख ४ हजार ६९८ जनाको नमुना परीक्षण गर्दा ३ लाख ५५ हजार ८२८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २, मेमा १८ लाख ४ हजार ९५४ जनाको नमुना परीक्षण गर्दा ३ लाख ७० हजार ४९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । भारतमा पछिल्लो २४ घण्टा (३,मे) मा ३ हजार ४३८ जना कोरानाको संक्रमणबाट निधन भएको छ । त्यस्तै २, मेमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ४२२ जनाको मृत्यु भएको थियो ।

नेपाली समय अनुसार बैशाख २१ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड २ लाख ७५ हजार ५४३ जना छन् । भारतमा १ करोड ६६ लाख ७०३ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै ३४ लाख ५२ हजार ४५७ जना पुगिसकेका छन्, यो संख्या क्रमशः बढ्दै गएको छ । बैशाख २१ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये २ लाख २२ हजार ३८३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।