नेपाली काँग्रेसले ल्यायो नयाँ निर्वाचन कार्यक्रम

info khabar २६ जेष्ठ २०७८, बुधबार ११:५९
नेपाली काँग्रेसले ल्यायो नयाँ निर्वाचन कार्यक्रम

२४ गते वार्डदेखि क्षेत्रीय प्रतिनिधि र पालिका कार्यसमितिको निर्वाचन
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशिल सदस्यको विवाद २०७८ साल असार १५ भित्र सक्ने निर्णय गरेको छ । विवाद भएका वडामा पुरानै क्रियाशील सदस्यलाई मान्य दिने र नयाँ सदस्यलाई आगामी वर्ष पुरानै मान्यता दिने सहमति नेताहरुबीच भएको छ । त्यस्तै वार्ड समिति, क्षेत्रिय प्रतिनिधि र पालिका कार्यसमितिको असार २० गते निर्वाचन प्रकृया शुरु हुने भएको छ । निर्वाचन कार्यक्रम अनुसार असार २४ गते बिहीबार उम्मेदवारी दिने शनिबार वार्ड, क्षेत्रिय प्रतिनिधि र पालिका कार्यसमितिको एकै पटक निर्वाचन हुने छ ।

मतदान शनिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । धेरै जना क्रियाशिल सदस्य भएको ठाउँमा विभिन्न ठाउँमा मतदान केन्द्र बनाउन सकिने अधिकार प्रत्यायोजन गरिएको छ । निर्वाचनमा डीएलए र नेपाल शिक्षक संघलाई परिचालन गर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ । त्यस्तै, प्रदेश सभा क्षेत्रीय समिति र प्रदेश प्रतिनिधि, जिल्ला कार्य समिति (बहु संसदीय क्षेत्र भएको ठाउँमा संसदीय क्षेत्रिय समिति) र महाधिवेशन प्रतिनिधिको निर्वाचनमा क्षेत्रिय प्रतिनिधि मतदाता हुनेछन् ।

असार ३० गते बुधबार उम्मेबारी दर्ता हुने छन् भने साउन ६ गते बुधबार मतदान गर्ने कार्यक्रम राखिएको छ । गाउँपालिको केन्द्र र नगरपालिको वार्डमा साउन ६ गते बुधबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । महासमिति सदस्य र जिल्ला कार्य समितिको साउन ७ गते बिहीबार उम्मेदवारी दर्ता हुने कार्यक्रम छ भने साउन ११ गते सोमबार निर्वाचन हुनेछ । यदी त्यस दिन ५० प्रतिशतभन्दा कम मत आएमा साउन १२ गते पुनः निर्वाचन हुनेछ ।

प्रदेश समिति र केन्द्रीय समितिका लागि साउन १५ गते शुक्रबार जिल्ला सदरमुकाममा उम्मेदवारी दिने र सबै उम्मेदवारको नामावली साउन १६ गते केन्द्रीय निर्वाचन समितिमा पठाउने कार्यक्रम सार्वजनिक भएको छ । त्यस लगत्तै साउन १७ गते निर्वाचन समितिले उम्मेदवार विरुद्धका उजुरी लिने १८ गते सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने र साउन १८ गते सोमबारदेखि भदौ १० बिहीबार गतेसम्म प्रचार प्रसार गर्ने समय दिइएको छ । देशका ७७ जिल्ला सदरमुकाममा भदौ ११ गते शुक्रबार निर्वाचन गरि मत परिणाम केन्द्रीय निर्वाचन समितिमा पठाउन सूचना जारी गरिएको छ ।